२८ चैत्र २०८१, शुक्रबार
कर्णालीमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। गत माघ ७ गतेबाट सुरु भएको हिउँदे अधिवेशन सोमबार रातीबाट अन्त्य भएको हो। यो अधिवेशनबाट विभिन्न सातवटा विधेयक पारित भएका छन्। प्रदेशसभाको यो दोस्रो कार्यकालको पाँचौ अधिवेशन हो।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले यो अधिवेशनबाट कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भने प्रदेशसभाबाट फिर्ता भएको बताए। पौडेलले भने,‘प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म जम्मा १४ वटा विधेयक पारित भए, यसअघिका चारवटा अधिवेशनबाट पनि सातवटा विधेयक पारित भएका थिए। तर कानुन निर्माणमा यसपटकको हिउँदे अधिवेशन महत्वपूर्ण बन्यो, यसपाली एउटै अधिवेशनबाट सातवटा विधेयक पारित गर्न प्रदेशसभा सफल भयो।’
प्रदेशसभाको दोस्रो कार्यकालमा पारित भएका १४ वटा विधेयक मध्ये ९ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। बाँकी पाँचवटा विधेयक पनि चाँडै प्रमाणीकरणको तयारीमा रहेका छन्। यसपालीको हिउँदे अधिवेशनमा ३० वटा बैठक बसेको र एउटा बैठक भने अवरुद्ध भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। ‘कानुन निर्माणको हिसाबले यसपटकको हिउँदे अधिवेशन सफल भयो’, सचिव बुढाथोकीले भने, ‘एउटै अधिवेशनमा सातवटा विधेयक पारित हुनु सुखद् पक्ष हो, प्रदेशसभामा रहेका समितिहरुको सक्रियताले पनि यो अवस्था आयो। प्रदेशसभाको पहिलो कार्यकालभर जम्मा ५३ वटा विधेयक पारित भएका थिए, तर यही गतिमा काम भए दोस्रो कार्यकालमा भने प्रदेशसभाले कानुन निर्माणमा प्रगति गर्ने संकेत देखिएका छन्।’
उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म पाँचवटा अधिवेशन सम्पन्न भएका छन्। यसअघिका चारवटा अधिवेशनको तुलनामा सोमबार राती अन्त्य गरिएको हिउँदे अधिवेशन कानुन निर्माणमा सफल बनेको उनको भनाइ छ। प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गत यसपालीको हिउँदे अधिवेशनमा पारित भएका बाहेक अन्य सातवटा विधेयक पनि यसअघि सम्पन्न चारवटा अधिवेशनबाट पारित भएका छन्। जसमा कर्णाली प्रदेश विनियोजन विधेयक २०८०, कर्णाली प्रदेश आर्थिक आर्थिक विधेयक २०८०, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्।
यस्तै कर्णाली प्रदेश आर्थिक विधेयक २०८१ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८१ पनि पारित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। हिउँदे अधिवेशन सोमबार रातीबाट अन्त्य भएको प्रदेशसभा सचिवालयले जनाएको छ।