क्षेत्रीय शान्तिका लागि बिमस्टेक महत्वपूर्ण छ : एनपी साउद

होमल्याण्ड खबर

२०८१ चैत्र १९ गते, बुधबार १५:१७ मा प्रकाशित

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महत्वपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको बिमस्टेकको छैटौं सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

‘गरीबी निवारण, द्रुत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, बहुआयामिक सम्पर्क विस्तार र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने ।

नेपाली कांग्रेसका नेता साउदले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त जीडीपी ५ ट्रिलियन डलरभन्दा माथि भए पनि आपसी व्यापार सात प्रतिशतभन्दा कम रहेको बताए । ‘व्यापारिक प्रवाह विस्तार गरेर गरिबी न्यूनीकरण र दिगो विकासलाई प्रबद्र्धन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले ‘रिजनल भ्यालु चेन’ निर्माण गर्नुपर्ने देखिन्छ ।’

बिमस्टेकले विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक ९एडीबी० जस्ता संस्थाहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न आवश्यक रहेको पनि साउदको भनाइ थियो । उनले हिमालयदेखि समुद्री तटसम्मको वातावरणीय सन्तुलन जोगाउन साझा प्रयास आवश्यक रहेको भन्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न बिमस्टेकले संयुक्त रणनीति अपनाउनु पर्ने आवश्यकता औंल्याए ।

साउदले बिमस्टेकलाई प्रभावकारी बनाउन जनस्तरमा उपस्थिति वृद्धि गर्नुपर्ने, सदस्य राष्ट्रहरूबीच शैक्षिक आदानप्रदान, सांसद तथा मिडिया प्रतिनिधिहरूको अन्तरक्रिया तथा डिजिटल सम्पर्क विस्तार गर्नुपर्ने पनि बताए ।

कांग्रेस नेता साउद इन्डिया फाउन्डेसनको निमन्त्रणमा बिमस्टेकमा सहभागी हुन थाइल्यान्ड गएका हुन् । फाउन्डेसनले कांग्रेस नेता साउदसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई पनि बिमस्टेक सम्मेलनमा आमन्त्रण गरेको छ ।