२८ चैत्र २०८१, शुक्रबार
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन बैठक अन्त्य गर्ने गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राती ११ः५९ बजेबाट प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा अधिवेशन अन्त्यका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभा बैठक मंगलबारका लागि आव्हान गरे पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यले बैठक सञ्चालन गर्न सहमत नभएपछि बुधबार १ बजेका लागि बैठक सारिएको थियो ।
प्रतिपक्षीले बजेटसम्बन्धी विवादका कारण प्रदेश सभा बैठक सञ्चालनमा अवरोध गर्ने भएपछि प्रदेश सरकारले अधिवेशन नै अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।