५ बैशाख २०८२, शुक्रबार
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार बिचौलियाले चलाएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पूर्व सांसद भिमबहादुर श्रेष्ठको (जीवन संघर्ष र अनुभूतिहरु) पुस्तक विमोचन तथा पार्टीको वार्षिक कार्यतालिकासहितको भित्तेपात्रो विमोचन गर्दै नेता कोइरालाले सरकार संचालनमा बिचौलीया हाबी भएको आरोप लगाएका हुन् ।
उनले यसको पछिल्लो उदाहरण नयाँ गर्भनर नियुक्तीमा भइरहेको ढिलाई नै रहेको बताए । नेता कोइरालाले थिलो थिलो बनेको अर्थतन्त्रलाई उकास्न बिचौलीको भन्दा बाहिर राम्रो व्यक्ति छिट्टै नियुक्त गर्नुपर्ने बताए ।
‘नेपालमा बिचौलीयाहरुले धैरै नै चलखेल गर्न थाले, राष्ट्र बैंकको गर्भनरमा अहिलेसम्म त्यस्तो चलखेल भएको थिएन अहिले बिचौलीयाले चलखेल गरिरहेका छन्’ नेता कोइरालाले भने–‘अहिले अत्यन्त अफ्ठ्यारो स्थितिमा हामी छौं, एकातिर हाम्रो अर्थतन्त्र राम्रो छैन, अर्कोतर्फ गर्भनर नियुक्तमा चलखेल भइरहेको छ, यस्तो कुरामा हामी बोल्न पर्छ ।’
नेता कोइरालाले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले ७ बुँदे सहमति अनुसार काम नगर्न नसकेको समेत बताए । उनले कुनै पनि लोकतान्त्रिक मुलुकमा संयत्रले देश नचलाउने भन्दै नेपालमा पनि गलत अभ्यास भइरहेको बताए ।
‘दुई ठूला पार्टी मिलेर देश राम्रो संग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन ।’–नेता कोइरालाले भने ।
उनले कांग्रेस र एमाले सरकार गठन गर्दा गरेको सहमती अनुरुप संविधान संशोधन, भ्रष्टचार न्यूनीकरणमा सरकारले कुनै पनि काम गर्न नसकेको दाबी गरे ।
नेता कोइरालाले पछिल्लो समयमा सडकमा देखिएको आक्रोश सरकारले सुशासन दिन नसक्दाको परिणाम भएको बताए ।
यस्तै नेता कोइरालाले पार्टी भित्र सबै एक भएर अघि बढ्नुपर्ने भन्दै एक अर्काप्रति आरोप प्रत्यारोप र गालीगलौज नगर्न निर्देशन समेत दिए ।
उनले चोक चौतारीमा बसेर गाली नै गर्न मन लाए अन्य पार्टीलाई गाली गर्न भन्दै आफ्ना पार्टीका नेता कार्यकर्तालाई गाली नगर्न निर्देशन दिएका हुन् ।
कार्यक्रममा नेता एनपी साउदलगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।