राज्यको क्रूरता सहेर अब राप्रपा चुप बस्दैन : डा.लोहनी

होमल्याण्ड खबर

२०८१ चैत्र २६ गते, बुधबार १६:५२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् । बुधवार काठमाडौँमा राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा लोहनीले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताएका हुन् ।

उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाए । उनले राज्यको क्रूरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै सङ्घर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए ।

इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अत्याचारको अन्त्य गरेको भन्दै पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरूको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।

उनले भने, ‘अब सङ्घर्ष गर्ने समय आएको छ । रावणलाई प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो । अन्तिममा गएर सङ्घर्ष गर्नुपर्‍यो । सङ्घर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो । नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ,उनीहरूलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा सङ्घर्षसिवाय अर्को उपाय छैन । सङ्घर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ ।’

नेता डा.लोहनीले नेपालको राजसंस्था नेपालीहरूलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुपर्ने दाबी गरे ।

उनले भने, ‘राप्रपाले भनेको छ हामी शान्तिपूर्ण सङ्घर्षमा जान्छौँ । तर शान्तिपूर्ण सङ्घर्षलाई कमजोर नसम्झ । अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन । हामी अगाडि बढ्छौँ । नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ ।’