शिक्षकमा मागमा सरकार गम्भीर नहुनु आश्चर्यजनक : नेता साउद

होमल्याण्ड खबर

२०८२ बैशाख २ गते, मंगलवार १३:४५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

१४ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले शिक्षकमा मागमा सरकार गम्भीर नहुनु आश्चर्यजनक विषय भएको बताए ।

सरकार गम्भीर नहुँदा नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै शैक्षिक हडताल घोषणा गरेको छ । जसले गर्दा एसईईको उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर कदम चालेका छन् ।

शिक्षकको आन्दोलनका कारण ठुलो क्षति पुगेको बताउँदै यो विषयलाई गम्भीरतापूर्वक लिई अविलम्ब निकास दिन सरकारलाई आग्रह गरे ।

आफ्नो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद भएको उनको भनाइ छ ।

शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठुलो भूल हुने समेत बताए । आन्दोलन जति लम्बिँदै गयो, शैक्षिक क्षेत्रले त्यति नै ठुलो क्षति बेहोर्नुपर्ने उनको भनाइ छ ।

सरकारले शिक्षकको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।