नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले हार्‍यो

होमल्याण्ड खबर

२०८२ बैशाख ३ गते, बुधबार १४:०३ मा प्रकाशित

यू–१९ विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

मुलपानीको तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि साहिल पटेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । निरजकुमार यादवले २३ रन बनाए ।

हङकङका लागि शायान पूरीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको थियो ।

हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

यसअघि नेपालले ओमान र यूएईलाई हराएको थियो ।