१४ मंसिर २०८१, शुक्रबार
दाङको लमही नगरपालिकाको रिहारमा बस र बुहारी लिएर आउँदै गरेको स्कोर्पियो एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
मृत्यु हुुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उनकी श्रीमती ४५ वर्षकी विमला खत्री, ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षका दत्तबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारस्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनबाट बाँकेको शम्शेरगञ्जतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको दाङका प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते हुनेमा राप्ती सोनारी गाउँपालिका–८ की गीतादेवि खत्री र चालक यामबहादुर बुढा रहेका छन् ।
दुलहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ ।