६ बैशाख २०८२, शनिबार
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्दैमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
बैठकपछि प्रवक्ता महतले भने, ‘प्रमुख प्रतिपक्षी दल सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने पनि उनले बताए ।
‘गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको सबै थोक हुँदैन’ प्रवक्ता महतले भने, ‘समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ ।’
साथै, बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता महतले भने, ‘सरकारले सशक्त डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ । त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ । सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ ।’
बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको उनले बताए । सभापतिले आफूले प्रधानमन्त्रीसँग कुरा गरिरहेकाले नमिलेका कुराहरूमा सहमति जुट्ने बताएको सुनाए ।