काेशीकाे इन्चार्ज खोसिएपछि नेता भण्डारीले दिए सम्पूर्ण जिम्मेवारीबाट राजीनामा

होमल्याण्ड खबर

२०८२ बैशाख ५ गते, शुक्रबार १०:५७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान इन्चार्ज तथा संगठन विभाग सदस्य ओमनाथ भण्डारीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफुलाई सोध्दै नसोधी प्रदेश इन्चार्ज पद खोसिएकोप्रति असन्तुष्टि जनाउँदै सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

‘मसँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दुःखी छु’, उनले भनेका छन्, ‘यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।’

कार्यवाहक सभापति डीपी अर्याललाई राजीनामा पत्र पठाउँदै भण्डारीले अब आफू साधारण सदस्य मात्रै रहने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’

पार्टीले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाउँदै उनले यसरी बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सिर्जना भएको समेत उल्लेख गरेका छन् ।

रास्वपाले बिहीबार मात्रै सातै प्रदेशमा नयाँ ईन्जार्ज तोक्दै कोशीको इन्चार्जमा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारलाई जिम्मेवारी दिएको थियो ।