सिमेन्ट उधोगको सुधार गरिने छ : मन्त्री यादव

होमल्याण्ड खबर

२०७५ मंसिर २७ गते, बिहीबार ०९:३४ मा प्रकाशित

उधोग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी उधोगसँग प्रतिस्पर्धामा लैजाने बताएका छन् ।

उधोगको बुधबार ३३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले उक्त उधोगलाई कस्तो बनाउने भन्ने यहाँका नेता तथा सरोकारवालाको हातमा रहेको उल्लेख गरेका छन् । उनले कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे पक्कै पनि उधोगको आन्तरिक व्यवस्थापनमा सुधार गर्न सकिने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका कुनै पनि उधोग कुनै पनि बहानामा बन्द गर्ने र त्यस्ता प्रयास गर्नेलाई छुट नदिइने बताए ।
लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उधोग विगत चार वर्षदेखि मुनाफा गर्न सफल भएको छ । उधोगले आव ०७४÷७५ मा रु २३ करोड ५० लाख ५६ हजार मुनाफा गरेको छ । त्यसअघिको वर्ष करीब रु २२ करोड उधोगले नाफा गरेको थियो ।

“चालू आवमा रु ३५ करोडभन्दा बढी नाफा गर्ने लक्ष्य लिएका थियौँ”, उधोगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले भने, “गत आवमा नै ३० करोडभन्दा बढी नाफा हुने थियो ।” उनले उधोगमा मेसिन पुराना भएका र खानीमा स्थानीय विवादले गर्दा जति काम गर्नुपर्ने हो त्यति काम गर्न नसकिएको जानकारी गराए । रासस।