सरकार परिवर्तनबारे प्रधानमन्त्रीको जवाफ– ‘नलाग पछि हल्लैको’

होमल्याण्ड खबर

२०८२ बैशाख ५ गते, शुक्रबार १६:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले नयाँ वर्षको दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिमाथि प्रतिकृया दिएका हुन् ।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ? हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन्’, उनले भने ।

ढुक्कका साथ विकास निर्माणका काममा लाग्न आग्रह गर्दै उनले हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नरहेकाे बताए । ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’