८ बैशाख २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
सर्वोच्चले यस मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ गर्दैछ । मुद्दाको प्राथमिकता दोस्रो नम्बरमा परेको छ । आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै रविले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो ।