९ बैशाख २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।
शिक्षकहरूले पटक पटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न प्रचण्डले अपिल गरेका हुन् ।
प्रचण्डले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईँहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक पटक सम्झौता गर्नुभएको छ र पटक पटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’
उनले एमालेकै नेतृ विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरका गैर जिम्मेवार रहेको अर्को प्रमाण भएको भन्दै भने, ‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैर जिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ । यो सरकार आफ्नै बोझ थाम्नसक्ने वाला छैन । आफ्नै बोझमा दबिएर यो सकिन्छ । हामी चाहन्छौँ कि सरकारले अझै पनि बुद्धि पुर्याओस् ।’
उनले शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे ।
‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन । हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेऊ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ,’उनले भने ।