९ मंसिर २०८१, आईतवार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भक्तपुरका चार नगरपालिकाहरुबिच पुनर्निर्माण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधारले भक्तपुरमा बुधबार आयोजना गरेको निजी आवास पुननिर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरि आदानप्रदान गरिएको हो ।
प्राधिकरणले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन स्थानीय तहसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्यको जिम्मेवारी हस्तान्तरण गरेको हो ।
समझदारीपत्रमा नगरपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिकाकोे हुने उल्लेख छ ।
नगरपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरु जस्तो सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिकामा पठाउने, व्यवस्था मिलाउन सक्ने, नगरपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख छ ।
समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्याहरु आइपरेमा प्राधिकरण तथा नगरपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइने लगायतका ११ बुँदे सहमति भएको हो ।
जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार भक्तपुरमा २८ हजार ३०८ लाभग्राही संख्या रहेका छन् भने २४ हजार १४४ लाभग्राहीले पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेर अनुदानको पहिलो किस्ता लगेका छन् । त्यस्तै दोश्रो किस्ता लिनेमा ६ हजार ७ सय १३ र तेस्रो किस्ता लानेमा ६ हजार १ सय ७६ लाभग्राही छन् ।