१२ बैशाख २०८२, शुक्रबार
आज देशभरका चिकित्सकले स्वस्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय घेराउ गर्दैछ । नेपाल चिकित्सक संघको आह्वानमा उपत्यकाभित्रका डाक्टरले स्वास्थ्य मन्त्रालय र बाहिरको डाक्टरले जिप्रका घेराउ गर्ने भएका हुन् ।
आज बिहान १० देखि १२ बजेसम्म काठमाडौं बाहिरका डाक्टरले जिप्रका र उपत्यका भित्रकाले माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्ने संघका कार्यकारी सदस्य तेत्छु मल्लले जानकारी दिए ।
साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ । आवासीय चिकित्सक २८ दिनसम्म पनि सडकमा उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले आरोप लगाए ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराइकन यो अवस्था आएको संघको ठहर छ ।