विद्यालय कर्मचारी परिषदद्वारा नयाँ आन्दोलन घोषणा :कक्षा १२ को परीक्षामा कालो पट्टी बाँधेर काम गर्ने

होमल्याण्ड खबर

२०८२ बैशाख १९ गते, शुक्रबार ११:४३ मा प्रकाशित

विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्मचारीहरुका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलन वैशाख २१ देखि सञ्चालन हुने जानकारी दिए । २१ गते कक्षा १२ को परीक्षमामा कालोपट्टी बाँधेर काम गर्ने उनको भनाई छ । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई नेपाल शिक्षक महाासंघले अलपत्र पारेको परिषद्को आरोप छ । सरकार र शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएपछि शिक्षकहरु आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका छन् ।

शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि विद्यालय कर्मचारी तथा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए । तर, सरकारसँग सहमति भएसँगै शिक्षकहरु विद्यालय फर्किएका छन् भने विद्यालय कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताएका छन् । परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने जनाएको छ ।