२० बैशाख २०८२, शनिबार
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत फेला परेको घटनाबारे स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सरोकारवालाहरूसँग आग्रह गरेको छ।
राजदूतावासले आज विज्ञप्ति जारी गर्दै केआईआईटी विश्वविद्यालयका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकृतसँग सम्पर्क तथा छलफल गरी घटनाबारे जानकारी लिएको जनाएको हो।
सरोकारवालासँगको छलफलमा घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुनुपर्ने तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न जोड दिएको राजदूतावासले जनाएको छ। राजदूत डा. शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी, प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेको राजदूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।