२० बैशाख २०८२, शनिबार
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ ।
यसअघि पार्टीले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भंग गर्ने चेतावनीसमेत दिएको थियो ।
तर, समितिले महाधिवेशन, सदस्यता वितरण र नवीकरणको कामसमेत सुरु गरेको छैन । यो समितिबाट महाधिवेशन हुन नसक्ने छाँट देखेको कांग्रेसले समितिको म्याद थपबारे निर्णय गरेको छैन ।
पार्टीले म्याद थप नगरेको तदर्थ समितिका अध्यक्ष शेर्पाले बनाएको अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह तथा नेताहरू जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायालाई बिहीबार स्पष्टीकरण सोधेको हो ।
समितिले रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सङ्गठनले उठाएका उम्मेदवारहरूको पक्षमा काम नगरेको आरोप लगाउँदै उनीहरूलाई ४८ घण्टे स्पष्टीकरण सोधेको हो । उनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । स्पष्टीकरण नदिएमा संघको विधान २०२७ को दफा २४९२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।