राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०८२ बैशाख २८ गते, आईतवार १७:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबिच भएको सहमति अनुसार संविधान संशोधन गर्ने भन्दै यसका लागि अधिकतम सहमति खोज्ने बताए ।

उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे ।

उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए । प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने धारणा राखे ।

त्यस्तै उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हर सम्भव प्रयास हुने स्पष्ट पारे ।