जडीबुटी–पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी

होमल्याण्ड खबर

२०८२ बैशाख २९ गते, सोमबार १५:४७ मा प्रकाशित

सरकारले काठमाण्डाै जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराउने भएको छ । सडक विभाग र काठमाण्डाै महानगरपालिकाले संयुक्त सूचना निकालेर सडकको सीमा क्षेत्रभित्र नक्सा पास विना/नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।

सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते राजपत्रमा प्रकाशित सूचनानुसार जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा कायम रहेको साथै नेपाल सरकार र पालिकाबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए प्रचलित नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।