३ जेष्ठ २०८२, शुक्रबार
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ ।
सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरू नेपाल आइसकेका छन् ।
संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।