३ जेष्ठ २०८२, शुक्रबार
संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । नौ वर्षदेखि विचाराधीन विधेयक शुक्रबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतरूपमा पारित गरेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार विवादित विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाइने कार्यान्वयन विधिमा सहमति जुटेपछि विद्येयक पारित भएको हो। सभापति खतिवडाका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने सहमति भएको छ। यसैगरी कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ।
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरूषको ३५ र महिलाको ३९ वर्षसम्म राखिएको छ।
निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।
सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन हालेका थिए। संशोधन प्रस्तावसमेतलाई एकैठाउँमा राखेर दफावार छलफल गरी संसदीय समितिले विधेयक पारित गरेको हो ।
विधेयक पारित भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका थिए।