३ जेष्ठ २०८२, शुक्रबार
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आइपुग्नुभएका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा शिष्टचार भेट भएको वन सचिव डा राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो ।
भेटमा मन्त्री शाहीले नेपाल भारतसँगको वातावरण तथा वन क्षेत्रको सहकार्यलाई साझा उत्तरदायित्व क्षेत्रीय एकता, पारस्परिक सम्मानको भावनामा आधारित रही अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँहरुबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वन सचिव डा मिश्रले जानकारी दिनुभयो । साथै उहाँहरुबीच वन्यजन्तु संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनजस्ता चुनौतीहरु सीमित भूगोलमा सीमित नरही क्षेत्रीय सहकार्यक आवश्यक रहेकाले प्रभावकारी क्षेत्रीय सहकार्य गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो ।