सांसदले उठाए काभ्रे घटना : ‘उपेश परियारको हत्या भएको हो, दोषीलाई कारबाही होस्’

होमल्याण्ड खबर

२०८२ जेष्ठ ५ गते, आईतवार १२:४७ मा प्रकाशित

काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मजदुरको मृत्यु भएको विषय संसद्मा उठेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काभ्रेबाटै निर्वाचित माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले यो विषय उठाएका हुन् ।

काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार ज्यान गएको थियो ।

नेकपा माओवादी केन्द्रका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीले मजदुरको ज्यान गएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले घटनाको छानविन गरी कारबाही गर्न माग गरे । ‘बिजुलीको पोलमा सुरक्षाका उपकरण बिना नै धेरै श्रमिकलाई खटाउने गरेकाले धेरैले ज्यान गुमाएका छन् । शनिबार काभ्रेमा त्यस्तै भयो । कुनै पनि सूचना नदिई प्राधिकरणले विजुली छोड्दा उनको ज्यान गयो । यो ज्यान प्राधिकरणले लिएको हो । तत्काल यसको छानबिन गरियास्,’ सांसद नेपालीले भने । उनले मृतक मजदुरका परिवारलाई राहत र क्षतिपूर्तिको पनि माग गरे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले काभ्रेमा राज्यले मजदुरको हत्या गरेको बताए । ‘काभ्रेको घटना हत्या हो सभामुख महोदय, पोलमा मजदुर चढेका बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या नै हो,’ सांसद शाहीले भने, ‘यो घटनाको छानबिन होस् र जान मार्ने कसुरमा मुद्दा चलोस् ।’