६ जेष्ठ २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पछिल्ला केही घटनाक्रमले नेपालको न्यायपालिकाले संविधानको रक्षा र नागरिक न्यायको हक सुनिश्चित गर्न सक्छ भन्नेमा प्रश्न उठेको बताएकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले रवि लामिछाने सम्बन्धित मुद्दामा थाहै नदिई पोखराको उच्च अदालतले एकफर्ती सुनुवाई गरेको सन्दर्भ गम्भीर रहेको बताइन् । उनले अदालतको निष्पक्षतामाथि प्रश्न उठेको बताएकी छन् ।
सांसद गौतमले न्यायपालिकाप्रति जनताको विश्वास गुम्दैगएको,अदालतले कानूनको प्रक्रिया मिच्न थालेको गम्भीर अवस्थामा संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भएको बताइन् ।
सांसद गौतमले पूर्वन्यायाधीश फोरमले समेत नेपालको न्यायपालिकको पछिल्लो क्रियाकलाप र न्याय सम्पादन प्रक्रियाप्रति प्रश्न उठाएको भन्दै यस्तो अवस्थामा मौन बस्ने कि जागरुक ढंगले प्रतिवाद गर्ने भन्ने विषयमा संसद र प्रेस पनि चुप लाग्न नमिल्ने बताइन् ।
उनले भनिन्, ‘व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्,तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको हत्या भयो भने के अवस्था आउला ?’
सांसद गौतमले न्यायपालिका पछिल्लो समय कार्यपालिकाकै शैलीमा अघि बढेको आशंका भइरहेको समेत बताइन् ।