६ जेष्ठ २०८२, सोमबार
नेपाली कांग्रेसका ६ पूर्वपदाधिकारीहरू पुन: भेट गरेका छन्। पार्टीको आसन्न महाधिवेशन केन्द्रित गर्न नेताहरू पूर्वउपसभापति गोपानमान श्रेष्ठको अपार्टमेन्टमा भेट गरेका हुन्।
आज आइतबार नेताहरू श्रेष्ठ, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा.प्रकाशशरण महतबीच भेट भएको हो।
‘नेपाली कांग्रेसका प्रभावशाली पूर्वपदाधिकारीहरू पार्टीको भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको छ’ कांग्रेसका एक नेताले भने।
सानेपाको साम्स अपार्टमा भएको छलफलमा नेताहरूले आगामी महाधिवेशनमा कसरी सहकार्य भन्नेबारे छलफल गरेको बताइएको छ।
नेता सिटौलाले छलफल एकघण्टासम्म चलेको बताए। ‘देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भयो। पार्टीको क्रियाशील नवीकरण चलिरहेको छ।
यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भयो,’ उनले नेपालखबरसँग भने, ‘हामी छलफलमा बसेका पूर्वपदाधिकारीहरू चाहन्छौँ- पार्टीभित्र वृहत एकता होस्, देश र जनतासामू आएका चुनौती सामना गर्न पार्टी समक्षम होस्। यसबारे सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्ने भएको छ। समय मिलाएर जान्छौँ।’
कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। देउवा तेस्रोपटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन। देउवा यसमा मौन छन्।
देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए।
नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ।