लिभरपुललाई म्यानचेस्टर युनाइटेडको चुनौती

होमल्याण्ड खबर

२०७५ पुष १ गते, आईतवार १०:०७ मा प्रकाशित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार विभिन्न तीन ठुला खेलहरु हुँदैछ । आइतबार हुने भिडन्तमा ठुला क्लबहरु लिभरपुल, चेल्सी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिगमा आइतबार सबैको पर्खाइमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल हुनेछ । लिभरपुल र युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ ।

लिभरपुलको मैदानमा हुने यस खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । युनाइटेडविरुद्ध मैदान उत्रदा लिभरपुल जितसहित शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । लिभरपुल १६ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।  लिभरपुल शीर्ष स्थानको सिटीभन्दा २ अंकले पछि छ ।

यता, युनाइटेड लयमा रहेको लिभरपुललाई हराएर शीर्ष स्थानको होड खुल्ला गर्न चाहन्छ । यस सिजन एकनासे प्रदर्शन गर्न नसकिरहेको युनाइटेड २६ अंक जोडेर छैटौं स्थानमा छ ।  युनाइटेडलाई आज लिभरपुललाई हराएर शीर्ष टोलीसंगको अंक दुरी कम गर्ने मौका छ  ।

यस्तै चेल्सीले ब्राइटनसंग उसैको मैदानमा खेल्दैछ ।  चेल्सी र ब्राइटनबीचको खेल बेलुका ७ :१५ मा  सुरु हुनेछ  ।

ब्राइटनविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै शीर्ष तीन क्लबसंगको अंक दुरी कम गर्न चाहन्छ । चेल्सी ३४ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आर्सनलले साउथह्याम्पटनसंग खेल्दैछ । साउथह्याम्पटनको मैदानमा हुने खेल बेलुका ७:१५ मा सुरु हुनेछ ।

साउथह्याम्पटनविरुद्ध आर्सनल सहज जितको खोजीमा हुनेछ । घरेलु टोलीलाई हराएर आर्सनल शीर्ष टिमसंग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ ।

लिगमा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ । ९ अंक जोडेको साउथह्याम्पटन रेलिगेसन जोनमा रहेको छ ।