किसानलाई गणतन्त्र होइन मल चाहिएको छ : ध्रुव प्रधान

होमल्याण्ड खबर

२०८२ जेष्ठ ६ गते, सोमबार १४:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए।

प्रधानले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरु धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताए।

‘किसानलाई अहिले मल चाहिएको हो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? अहिले सुशासन चाहियो की गणतन्त्र चाहियो भन्दा के जवाफ आउँछ? सहकारी पीडितलाई पैसा फिर्ता चाहियो की गणतन्त्र भन्दा के जवाफ आउँछ?,’

उनले भने, ‘त्यसकारण जनभावनालाई, मानिसका आस्थालाई एउटा आस्थाले प्रतिनिधित्व गर्ने कुरालाई यस किसिमले प्रायोजित ढंगले कुरा गरिएका छन्, ती असल कुरा होइनन्। परिवर्तनका नाममा थुप्रै घटना भएका छन्।’

प्रधानले थपे, ‘अपराधिक वा ज्यान लिएका समेत घटना भएका छन्, प्लेन हाइज्याक भएको छ, बम हानिएको छ, हतौडाले गर्धन रेटिएको छ। बम प्रहार भएको छ।

हतौडाले टाउकोमा हानिएको छ। व्यक्तिको सम्पत्ति लुटिएको छ, बैंक लुटिएका छन्, यत्ति गर्दा पनि नभएर देश लुटाउने सन्दर्भको कुरा हुँदा जनताको विचार र युवाको विचारमा परिवर्तन आउँछ।’

सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए। प्धानले शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने उल्लेख गरे।