रविका तर्फबाट सकियाे वहस, के आउला आदेश ?

होमल्याण्ड खबर

२०८२ जेष्ठ ९ गते, बिहीबार १३:४३ मा प्रकाशित

सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहेको छ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा आज दोस्रो दिनको बहस भइरहेको हो ।

अस्ति मंगलबार सुरु भएको सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो एक न्यायाधीश उपलब्ध नभएपछि सुनवाइ हुन सकेन । आज फेरि बहसले निरन्तरता पाएको छ ।

रास्वपा सभापति लामिछानेका वकिलहरूले बहस सिध्याएका छन् । अस्ति बहस थालेका गरेका अन्तिम वकिल रमण श्रेष्ठले आज सुरुमा बहस गरेका थिए । उनको बहस सकिएको स्रोतले बतायो । रविपछि अहिले छविका वकिलहरूले बहस सुरु गरेका छन् ।

अहिले वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् । रमणले आफ्नो बहसमा संसदीय विशेष समितिले सहकारीबाट पैसा ल्याउन रविको भूमिका नरहेको औँल्याए पनि बदनीयतपूर्व रविलाई जबरजस्ती फसाउन खोजेको दाबी गरेका थिए ।

छविका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलहरूको पालो आउने छ । आज सकिन्छ भन्ने अवस्था छैन ।