परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

होमल्याण्ड खबर

२०८२ जेष्ठ ९ गते, बिहीबार १५:४४ मा प्रकाशित

त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेका थिए।

उनीहरुका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भयो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउँदै छन् ।

त्यस भेटका अवसरमा मन्त्री डा राणाले आगामी बर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्। मन्त्री डा राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रकारुपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन्।

मन्त्री डा राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन्।

परराष्ट्रमन्त्री डा राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध भन्दा पनि सिदयौँ पुरानो सम्बन्ध रही आएको प्रसंग उल्लेख गर्दै भनिन्, “दुई देशबीच भगवान गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो ।”