९ जेष्ठ २०८२, बिहीबार
काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटमा २५ शय्याको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ ।
जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्याटेलाइट अस्पतालका रूपमा थानकोटमा नयाँ अस्पताल बन्न लागेको हो ।
यसका लागि जर्मन विकास बैंक (केएफडब्ल्यू) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ ।
यो खाकाको तयारीसँगै अब भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ । केएफडब्ल्यूले अस्पतालका लागि एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवम् प्राविधिक सहयोग गर्नेछ ।
अस्पताल बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरेको थियोे । नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्ल्यूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेका थिए ।