२६ फाल्गुन २०८२, मंगलवार
परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छिन् । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् ।


मन्त्री डा राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत् आर्थिक वृद्धि र गरिबी निवारण, विपद जोखिम न्यूनिकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।
मन्त्री डा राणाले सो अवसरमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुननिर्माण एवं मर्मत सम्भार लगायत नेपालका कैयौँ क्षेत्रहरुमा जाइका मार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगको सराहना गरिन् ।
भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरु सम्बन्धी विषयमा पनि कुराकानी भएको थियो ।