आगामी चैतमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आउने

होमल्याण्ड खबर

२०७५ पुष १ गते, आईतवार ११:४८ मा प्रकाशित

आगामी चैतमा मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । निर्माणको काम तोकिएको समयभन्दा अगावै सम्पन्न हुने भएकाले चार महिनापछि अर्थात् चैत १७ गतेसम्म पेट्रालियम पदार्थ ल्याउने तयारी गरिएको हो ।

निगमका अनुसार भारततर्फको ३२ किलोमिटर पाइपलाइन अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ करिब २३ किलोमिटर सम्पन्न भइसकेको छ । अमलेखगञ्जको डिपोभित्रको आठ सय मिटर र अमलेखगञ्जदेखि पथलैयासम्मको नौ किलोमिटर बाँकी रहेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, मार्चसम्ममा पेट्रोल ल्याउने गरी तीव्र गतिमा काम भएको छ । उनका अनुसार निर्माण कम्पनीले निरन्तर काम गरिरहेको छ । दैनिक निगरानी र अनुगमन गरी काम भएको उनले बताए । कामका सन्दर्भमा नियमित छलफल र अनुगमनलाई गति दिइएको उनले जानकारी दिए ।

निर्माण शुरु गरेको तीस महिनाको अवधि तोकेर गत वैशाबाट शुरु भएको निर्माणको काम आठ महिना नपुग्दै ७५ प्रतिशत सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मोतीहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण भएपछि मासिक ७० करोड ढुवानी भाडा बचत हुने अनुमान छ ।

कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइपलाइनका लागि दुई अर्ब र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड लगानी हुनेछ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल सरकारको लगानी हो ।

निगमका अनुसार अमलेखगञ्जमा भण्डारण ट्याङ्की थप गरिनेछ । हाल २३ हजार किलोलिटर क्षमताको ट्याङ्की रहेकोमा अब ४२ हजार किलोलिटर क्षमता भएको ट्याङ्की निर्माण हुनेछ ।

सो ट्याङ्की निर्मापछि एकैपटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सय वटा गाडीले तेल भर्न मिल्नेछ । १०.७५ इन्च ब्यासको सो पाइपबाट प्रतिघण्टा तीन लाख लिटर रक्सौलबाट आपूर्ति हुनेछ । पाइपलाइनबाट आपूर्ति हुन थालेपछि ढुवानी लागत घट्ने, मिसावट नहुने, लोडिङ जाम, बन्द हडताल र समयको पनि बचत र आपूर्तिमा धेरै सहज हुने निगमले जनाएको छ ।