१६ जेष्ठ २०८२, बिहीबार
एमालेले गणतन्त्र स्थापना दिवसलाई सडक सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । १५ जेठको गणतन्त्र दिवसमा हिमाल, पहाड, तराई र उपत्यकामा बसोबास गर्ने विभिन्न जातिको सांस्कृतिक झाँकी र नाचगानसहित रत्नपार्कमा उत्सवका रूपमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको हो ।
गणतन्त्र उत्सव आयोजना गरिएको विषयमा जानकारी दिन उसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ । आइतबार केन्द्रीय सचिवालय बैठकबाट गणतन्त्र उत्सव मनाउने निर्णय गर्दै एमालेले सहभागिताका लागि जनसमुदायलाई आह्वान गरेको थियो ।
त्यसअघि दिउँसो आयोजित एक कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गणतन्त्र स्थापना दिवसका दिन आयोजना हुने महोत्वसमा काठमाडौं एमालेको नियन्त्रणमा हुने गरी तयारी थाल्न निर्देशन दिएका थिए । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार भृकुटीमण्डपबाट भद्रकाली, सहिदगेट, एनएसी हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा राष्ट्रिय झन्डा, सांस्कृतिक झाँकी र नाचगानसहित पुग्ने जुलुस गणतन्त्र उत्सवमा परिणत हुनेछ ।
शान्ति वाटिकामा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघले चर्चित कलाकारसहितको सहभागितामा सांस्कृतिक कार्यक्रम गर्ने गरी तयारी गरिरहेको छ । अधिकारीले उत्सवका रूपमा आयोजना गरिएका कारण संख्या गणना नगरी स्वतःस्फूर्त सहभागिताका लागि आह्वान गरेर पार्टीले कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए ।
‘गणतन्त्र सबै नागरिकका लागि उत्सव भएकाले नारा–जुलुस हुँदैन, को–को नेताले नेतृत्व गर्ने भनेर तोकिएको पनि छैन, स्वतःस्फूर्त सांस्कृतिक झाँकी र नाचगान हुनेछन्,’ उनले भने । झाँकी र उत्सवलाई व्यवस्थित गर्ने कामको नेतृत्व स्वयंसेवक टोली प्रमुखका रूपमा एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठ र नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेले गर्नेछन् ।
कार्यक्रम तयारीका लागि एमाले काठमाडौं उपत्यका र बागमतीको पार्टी पंक्ति र जनसंगठनहरूलाई परिचालन गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरूको संयोजन गर्न सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वयको संयोजनको जिम्मेवारीका लागि भूगोलअनुसार नेताहरूलाई खटाइएको छ ।