आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

होमल्याण्ड खबर

२०८२ जेष्ठ १६ गते, बिहीबार १५:२९ मा प्रकाशित

चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्र विस्तार ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि छ ।

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

गत फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो । यसैगरी मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ ।