रविलाई रुपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी

होमल्याण्ड खबर

२०८२ जेष्ठ २१ गते, मंगलवार १५:२२ मा प्रकाशित

सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं लैजाने तयारी गरिएको छ । लामिछाने डिल्लीबजार कारागार, काठमाडौं जान चाहेपछि सरुवाका लागि आवश्यक तयारी थालिएको कारागार प्रशासनले जानकारी दिएको छ ।

जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए । पहिले पनि लामिछानेलाई सरुवा हुन चाहे नचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।

कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

अहिले पार्टीका नेताहरु र परिवारसँग भेटघाटका लागि समेत अफ्ठ्यारो हुने भएपछि कारागार सरुवाबारे छलफल रास्वपाले समेत बताएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार, अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो ।

डिल्लीबजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङेले समेत कैद सजाय काटिरहेका छन् । लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।