२४ जेष्ठ २०८२, शुक्रबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलापछि अहिले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बै७कमा सर्वोच्चको फैसला लगायत समसामयिक घटनाक्रमबारे छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
बुधबार मात्रै सर्वोच्च अदालतले १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको थियो ।
सो आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।
सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।
माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरिएको थियो । असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।
शान्ति प्रक्रिया सुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि उनले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् ।
त्यसअघि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरियो । तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले द्वन्द्वकालीन विषय भएकाले तामेलीमा राख्ने निर्णय गर्यो ।