रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, वकिललाई ५०–५० हजार जरिवाना

होमल्याण्ड खबर

२०८२ जेष्ठ २३ गते, बिहीबार १४:५४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएका छन् ।

अदालतमा मुद्दा गएपछि सम्पर्कमा हुने सर्तमा हाजीरी जमानीमा छुटेका उनीहरु अहिलेसम्म सम्पर्कविहीन भएका हुन् ।
उनीहरु सम्पर्कविहीन भएपछि जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जिम्मा जमानी लिने मिश्र र राणाका वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको बताए । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणा पक्राउ परेका थिए ।

मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो ।

मिश्रभन्दा अगाडि ७ वैशाखमा राणा छुटेका थिए । उपचारका लागि भन्दै राणालाई छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहँदा उनी पनि सम्पर्कविहीन छन् । जसकारण हाजिरी जमानीमा बुझ्नेहरुलाई जरिवाना तिराइएको हो ।