माधव नेपालमाथि प्रतिशोध राखेर भ्रष्टाचारको मुद्दा लगाएको पाण्डेकाे आराप

होमल्याण्ड खबर

२०८२ जेष्ठ २३ गते, बिहीबार १६:०४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन् ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पाण्डेले यो जग्गा प्रकरणमा भ्रष्टाचारसँग जोडिने अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी गरे ।

उनले भने, ‘अहिले यो मुद्दा दर्ता हुनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनाले यही छोटो अवधिमा के-के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ ।’

यसअघि नै मुद्दा नचलाउने भनेर तामेलीमा राखिएको निर्णय उल्ट्याएर सरकारले मुद्दा चलाउनले प्रतिशोध भएको देखिएको दाबी गरे ।

उनले भने, ‘योमात्रै होइन गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएका छन्, नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुन्छन् ।’