सङ्गठित अपराधको यति धेरै सूचना हुँदा चुप बस्न सक्दैनौँ : रास्वपा

होमल्याण्ड खबर

२०८२ जेष्ठ २८ गते, मंगलवार १४:४२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफूहरूले लिएर अडान यसै नछाड्ने प्रष्ट पारेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले राजनीतिक संरक्षण बेगैर १८ वर्षदेखि गम्भीर सङ्गठित अपराध सम्भव नहुने भएकाले आफूहरूले छानबिनको कुरालाई प्राथमिकता दिएको बताए।

रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस एमाले त्यो प्रस्ताव स्वीकार्न तयार छैन।

उनले भनेका छन्, ‘सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौ, बस्दैनौँ।’

उनले कांग्रेस र एमालेलाई विगत सम्झाउँदै सदन अवरोध गर्न आफूहरूले प्रतिस्पर्धा गर्न नचाहेको समेत बताए। रास्वपाले विगतका सबै गृहमन्त्रीको कार्यकालको समेत छानबिनको प्रस्ताव अघि सारेको छ।

प्रवक्ता झाको भनाइ जस्तो त्यस्तै-

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले सङ्घीय सदनको ५८ वटा बैठक अवरोध गरेको थियो। कम्युनिस्ट दुई तिहाइ ढलेपछि एमालेले ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको थियो।

नेपाली काँग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडी बढ्न दिएन।

हामीले यो ज्येष्ठ १३ र १४ गते सदन अवरोध गर्‍यौ, १५ गते बजेट प्रस्तुत गर्दा सहजता सहित सहभागी भयौ।

जेठ महिनाको २०, २१, २२, २३, २५ र २६ गते अवरोध भएको छ। तर हामी सदन अवरोधमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धामा छैनौ। त्यहाँ सम्म पुग्न खोजेको हैन। हाम्रो समस्या यो प्रकरणसँग हो। र, यसको समाधान नै हाम्रो प्रमुख माग हो। यसमा सत्तापक्षको राजनीतिक व्यवहारमा ३ समस्या रहेको पाएका छौँ।

१० उहाँहरूलाई यो समस्या नै हैन झैँ लाग्छ। तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ कार्तिक देखि २०८२ वैशाख सम्म गृह मन्त्रालयलाई भिजिट भिसा प्रकरणबारे ९ पटक पत्राचार गर्दा पनि टेरेनन्, अख्तियारले अब छापा मार्दै छ भन्ने थाहा पाए पश्चात् मात्र जागे।

२० एउटा कर्मचारी समातिएको त हो नि भन्दै यसमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई बचाउन खोज्दै हुनुहुन्छ। राजनीतिक संरक्षण बेगैर १८ वर्षदेखि यस्तो गम्भीर सङ्गठित अपराध सम्भव नै हुँदैन। उहाँहरूले केही लुकाउँदै हुनुहुन्छ।

३० दुई तिहाइ र ठुलो पार्टी भन्दै, मानव बेचबिखन जस्तो सङ्गठित अपराधको सदाका लागि समाधानको माग राख्दै सदन अवरोधको कुरामा धरी सत्ता गठबन्धनले यो राजनीतिक पूर्वाग्रह हो भन्दै, पन्छिन खोजेको र हामी देश यसरी नै लुट्दै चलाउँदै गर्छौ भन्ने सन्देश त दिन खोजेको हैन ?

हामी, राष्ट्रिय स्वतन्त्र पार्टी, अहिले सरकारमा छैनौ, सत्तामा कहिले पनि पुगेकै छैनौ। तसर्थ वर्तमान गठबन्धनलाई भन्दा हामीलाई सदन आवश्यक छ, धेरै कुरा भन्नु छ, सुन्नु छ, सिक्नु छ। तर कुन सर्तमा भन्ने हामीले लेखिसक्यौ, बुझाई सक्यौ। हाम्रो ५ बुँदे स्पष्ट छ।

सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्ष देखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरण बारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौँ, बस्दैनौँ।