३१ जेष्ठ २०८२, शुक्रबार
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुरु हुने बताएका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुरु हुने विश्वास व्यक्त गरे।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
यस विषयमा मन्त्री गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे ।
मन्त्री गुरुङले भने, ‘अहिले संसद् जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षबीचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद् खुल्न सक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसद्लाई कसरी लैजाने भन्ने कुरा सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ ।’
मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।