१५ बैशाख २०८३, मंगलवार
सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा कार्यरत रहँदा ठेक्का प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


मुद्दामा परियारसँगै महानगरपालिकाका तत्कालीन निर्देशकहरू रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादी रहेका छन् । अख्तियारले सातै जनालाई जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको ठहर गर्दै सोही अनुसारको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
महानगरको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान थालेको थियो । सो क्रममा सबैभन्दा कम लागतको प्रस्ताव पेश गर्ने ‘समानान्तर सेवा प्रालि’ लाई अयोग्य घोषित गरी बढी लागतको प्रस्ताव पेश गर्ने ‘कल्पवृक्ष कोहीनूर’ सँग सम्झौता गरिएको पाइएको आरोप छ । समानान्तर सेवाको प्रस्ताव १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँको थियो भने कल्पवृक्ष कोहीनूरको प्रस्ताव २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ थियो ।
ठेक्का प्रक्रिया कमजोर र मिलेमतोपूर्ण भएको ठहर गर्दै, यसबाट भएको वित्तीय हानिलाई बिगोका रूपमा लिई भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
प्रदीप परियार महानगरपालिकाबाट सरुवा भई हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रूपमा कार्यरत छन् ।