बालेनविरुद्ध अख्तियारमा युवराज सफलको उजुरी

होमल्याण्ड खबर

२०८२ जेष्ठ ३० गते, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ता युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

“काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,” उजुरीमा भनिएको छ ।

उजुरीमा महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ ।