३१ जेष्ठ २०८२, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ।
मंगलबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार, भिजिट भिसाको दुरुपयोग गरी नेपाली नागरिकलाई विदेशमा लगेर अलपत्र पार्ने र शोषण गर्ने गम्भीर विषयलाई सदाका लागि निराकरण गर्न सबै प्रतिपक्षी दलहरू साझा धारणामा पुगेका छन्।
कार्यवाहक प्रवक्ता झाले भने, ‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ।’
लामो समयदेखि नेपालमा भिजिट भिसाको आवरणमा मानव तस्करीको संगठित सञ्जाल सक्रिय रहेको र यसमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नताको आशंका गरिँदै आएको छ।
प्रतिपक्षी दलहरूको यो साझा ऐक्यबद्धताले अब संसदमा सरकारमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।