३२ जेष्ठ २०८२, शनिबार
संसदको गतिरोध हटाउने विषयमा प्रमुख तीन दल कांग्रेस(एमाले र नेकपा माओवादी केन्द्रबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै अब १३ जेठयता माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसदमा गर्दै आएको अवरोध हट्ने भएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर माओवादी केन्द्रसहितका विपक्षी दलहरूले संसद लगातार अवरोध गर्दै आएका थिए । भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी प्रमुख तीन दलबीच दुईबुँदे सहमति भएको हो ।
सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा रास्वपाले भने विमति जनाएको छ ।
यस्तो छ दुईबुँदे सहमति
१, भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
२, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।