२५ फाल्गुन २०८२, सोमबार
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सम्बन्धित पक्ष सबैको ध्यानाकर्षण गराएका हुन् । साथै उनले सदन सञ्चालन गरेर निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो अगाडी बढाउन आग्रह गरेका छन् ।


‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको छ ।
यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।त्यसप्रकारले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु’ उनले लेखेका छन् ।