२५ फाल्गुन २०८२, सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ । शुक्रबार बसेको संसद बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएपछि माओवादीले यस्तो टिप्पणी गरेको हो ।
संसद बैठकमा आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन, बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ, ती कार्यसूचीहरू हटाइन्छ, कारण के भनेर सोध्छौं, मन्त्रीको उपस्थिति छैन ।”


मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावली विपरित हुने उनले बताए । मन्त्रीको अनुपस्थितिबेगर छलफल गराए प्रतिनिधि सभा नियमावलीको ठाडै उल्लघंन हुने उनको भनाई छ । “नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने ? यो कहाँसम्मको अन्याय हो ?”, उनले भनेका छन् ।
विपक्षी निरन्तर आन्दोलित भइरहँदा पनि सरकार जवाफदेही नबनेको उनले बताए । “सदनमा आन्दोलन भएको यति समय भयो, सरकारको जवाफदेही पनि छैन, सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित हुनुभयो, अहिले आज दिएको कारयसूचीमा पनि मन्त्रीहरू उपस्थित हुनुहुन्न”, उनले भनेका छन् ।
माओवादी केन्द्रले विपक्षी दलका मागमाथि सुनुवाई गर्न आग्रह गरेको छ ।