९ मंसिर २०८१, आईतवार
२०७२ सालको भूकम्पपछि खरिद गरिएका जस्तापाता बिक्रीका लागि टेन्डर गर्दा लागत रकम नआएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले अपुग २० करोड रूपैयाँ सरकारसँग माग गरेको छ । जस्ता बिक्रीका लागि तेस्रो पटकसम्म टेन्डर आह्वान गर्दा पनि लागत रकम नपरेपछि कर्पाेरेसनले शोधभर्नावापत सरकारसँग अपुग २० करोड रूपैयाँ माग गरेको हो ।
उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयले शोधभर्नावापतको २० करोड रकम उपलव्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । सरकारको निर्देशनमा भूकम्प गएलगत्तै कर्पाेरेसनले ३० करोड रूपैयाँमा ५० हजार बन्डल जस्तापाता खरिद गरेको थियो । लामो समयसम्म बिक्री नभई गोदाममा थन्किएका जस्तापाता पछिल्लो समय सरकारले बिक्री गर्न निर्देशन दिएपछि टेन्डर आह्वान गरिएको थियो । तीन पटकसम्म टेन्डर आह्वान गर्दा पनि लागत रकम नपरेकाले अर्थ मन्त्रालयसँग अपुग रकम माग गरिएको कर्पाेरेसनका नायव महाप्रवन्धक कुमारराज राजभण्डारीले जानकारी दिए । “पटकपटक टेन्डर आह्वान गर्दा पनि लागत रकम पर्न सकेन,” उनले भने, “अपुग रकम उपलव्ध गराउन पत्राचार गरेका छौं ।”
जस्तापाता बिक्रीका लागि तेस्रो पटक टेन्डर आह्वान गर्दा २२ करोड रूपैयाँ परेको थियो । ३० करोडमा खरिद गरिएका जस्तापाता अहिले ब्याज, विभिन्न शुल्कसहित गरेर कर्पाेरेसनको ४२ करोड रूपैयाँ पुगेको छ । अपुग रकमका लागि आपूर्ति मन्त्रालयले पत्राचार गरे पनि अर्थ मन्त्रालयले अझै स्वीकृत गरेको छैन ।
सरकारी भवन, शिक्षा, स्वास्थ्य चौकी निर्माण गर्ने भनेर खरिद गरिएका जस्तापाता प्रयोग नहुँदा कर्पाेरेसनले ठूलो रकम घाटा बेहोर्नुपरेको छ । महंगो मूल्यमा खरिद गरिएका उच्च गुणस्तरका ५० हजार बन्डल जस्तापाता तीन वर्षदेखि गोदाममै थन्किएका छन् ।
“३० करोड रूपैयाँमा खरिद गरिएका जस्तापाता बिक्री नहुँदा तीन वर्षमा बैंकको ब्याज नै बढेर ४० देखि ४२ करोड रूपैयाँ पुगेको छ,” कर्पोरेसनका महाप्रबन्धक राजभण्डारीले भने, “टेन्डर गर्दा पनि खरिद मूल्य नपरेकाले अपुग रकम सरकारले व्यवस्था गरिदिनुपर्छ ।” कर्पाेरेसनले पहिलो पटक टेन्डर गर्दा १६ करोड ८४ लाख ९६ हजार रूपैयाँको टेन्डर परेको थियो । दोस्रो पटक गरेको टेन्डर प्रक्रिया पुरा नभएर रद्द भएको थियो । पुनः तेस्रो पटक गत ९ जेठमा टेन्डर आह्वान गर्दा ६ वटा कम्पनीले टेन्डर गरेकोमा सवैभन्दा बढी २२ करोड १३ लाख ३२ हजार २ सय १९ रूपैयाँको टेन्डर परेको थियो । कर्पोरेसनले जिन्दल (ईण्डिया लिमिटेड) वेष्ट बंगाल, भारतबाट ती जस्तापाता खरिद गरेको थियो ।