२७ फाल्गुन २०८२, बुधबार
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।
उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहेका छन् ।


अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।” असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।